९ असोज २०७९, आइतवार

लिम्बूनी पुल !

सुनिल उलक

पश्चिम सुर्खेतका बासिन्दा दलवीर सिंह र उनले बनाएको झोलुङ्गे पुलहरुको चर्चा गर्दा पश्चिम नेपाल मुख्यतया कर्णालीवासीहरुको उत्साह देखियो । दलवीरको वाह वाह गर्नेहरु धेरै भेटिए । उनको जन्मस्थल रहेको गुराँस गाउँपालिका तथा प्रदेश सरकार पनि सचेत भएको देखियो । तर यस किसिमका उत्साही र समाज प्रति निस्वार्थ भावले पुल बनाइदिने अरु पनि थिए । त्यो बेला झोलुङ्गे पुल बनाउने आँट गर्नु त्यति सहज थिएन । सोचेर मात्र सम्भव थिएन । धन भएर मात्र पनि सम्भव थिएन । तर पनि यस किसिमको झोलुङ्गे पुल बनाएर समाजमा अनुकरणिय उदाहरण देखाउने धेरै भेटिन्छन् ।

यो कथा पूर्वी नेपालको लिम्बूनी पुलको हो । ६०-६५ बर्ष अगाडि बनेको वास्तविक लिम्बूनी पुलको अस्तित्व अहिले छैन तर त्यहि स्थानमा बन्न लागेको नयाँ पुलको नाम पनि उहि लिम्बूनी पुल रहेको छ । तसर्थ यो नाम अहिले फेरी सुनिन थालेको छ । तमोर करिडोरको रुपमा हिमाल र तराइ जोड्ने सहज र छोटो बाटो तैयार हुदैछ । चीनिया सिमा टिप्ताला भन्ज्याङबाट भारतीय सिमा रानी भन्सार जोड्ने सबैभन्दा छोटो राजमार्ग बन्दैछ । यसै राजमार्गमा पर्ने तमोर नदीको पुललाई लिम्बूनी पुल नै नामाकरण गरिएको छ । पहिले हिडेर जाँदा निधुरादीनबाट अमरपुर निस्कदा तमोर खोला तर्ने पुल नै लिम्बूनी पुल थियो । यो पुल हाल ओलाङचुङगोला लोकमार्ग अन्तर्रगत पर्दछ । अझ भनौ भने पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका र ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाको सेतुको रुपमा रहेको तमोर नदीको झोलुङ्गे पुल नै लिम्बूनी पुल हो ।

लिम्बूनी शब्दले नै जनाउँछ कुनै महिलाको नामबाट बनेको पुल हो । ताप्लेजुङ जिल्ला खाम्लुङ गाँउमा बिसं १९३४ को चैत्रमा जन्मनु भएका विष्णुमाया लिम्बूनीको नामबाट बनेको पुल हो । बिबाह पछि हालको ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका अन्तर्गत वडा नं ५ चाँगेको नेसुममा बसोबास हुन थालेका विष्णुमायाको पुरा नाम भने बिष्णुमाया नाल्बो आंगबुहांग हो । नेपालमा राणाशासनको अन्त्यको समय आफ्ना श्रीमान गुमाएका विष्णुमायालाई आफ्नो श्रीमानको सम्झनामा केही गर्ने रहर जाग्न पुग्यो । जीवनको सबैभन्दा ठूलो धन भनेकै श्रीमान थियो, श्रीमान नै गुमाए पछि यो धनको मेरो लागि अरु धनको महत्व नै के छ भनेर सोच्दै उनले तमोरमा झोलुङ्गे पुल हाल्ने सोचे । आफ्नाहरु तथा छरछिमेकको सल्लाहले पुल बनाउने ठाउँको निधो गरे । पुल बनाउन आबश्यक सामग्री खरिद गर्न भारतको सिलिगुडीमा गाउँलेहरुलाई पठाए । मुख्य सामग्री फलामे लट्ठा तथा फलामे साङ्लो उतैबाट ल्याइयो । अन्य सामग्री गाउँमा नै तैयार बनाइयो ।

उनको माइती परिवार भने निकै धनी थियो । उनका दाजु उजिरधोज नाल्बो त्यस इलाकाका कहलिएका धनी ब्यक्ती थिए । उनको गाउँ देखि करिव चार घण्टा हिडेर पुगिने तमोर हिउँदमा त मुश्किलले तर्न सकिन्थ्यो तर वर्षामा भने तर्ने आँट कसैले गर्न सक्दैनथे । खोलामा राखिने फड्केको कुनै भर नै हुदैनथ्यो । ताप्लेजुङ तथा पाँचथरबाट नुन तेलको लागि ढाकर बोकेर आउने भरियाहरु कति त तमोरले वर्षेनी खान्थे । हरेक वर्षातमा मृत्युका समाचारले आक्रान्त बनेको बुढ्यौली मनले पुल बनाउने अठोट नै गरिन् । बिष्णुमायाले पुल बनाउने आँट गर्दा उनको उमेरले चार बीस पुग्न पाँचै वर्षमात्र बाकि थियो । यो बुढ्यौली उमेर सबै चिन्ता पिरलाई ठाँटी राखेर आराम गर्ने दिन थियो । तर बिष्णुमायाको कमलो मन तथा श्रीमानबाट बियोगले आक्रान्त भएको मनले पुल बनाउने निश्चित गरिन ।

बिसं २००९ सालमा पुल तैयार भयो । पुल बनेपछि पाँचथर, ताप्लेजुङ र तेह्रथुमका गाउँले सबैलाई सहज भयो । गाउँबाट ढाकर बोकेर लहरै हिड्ने भरियाहरु पनि खुशी भए । अब वर्षेनी जीवन गुम्ने डर भएन । गाउँले सबै मिलेर पुलको नाम नै विष्णुमायाको सम्झनामा लिम्बूनी पुल राखिदिए । विष्णुमायालाई कसैले सम्झन्छन् या सम्झदैनन् त थाहा भएन तर लिम्बूनी पुलको नाम सदैव अमर भएको छ । उनले बनाएको पुलको स्थानमा नयाँ पुल बन्यो, त्यसपछि फेरी यातायात नै सुचारु हुने गरि पक्की पुल बन्दैछ । तर नाम भने अहिले पनि लिम्बूनी पुल नै रहेको छ ।

बुढापाकाले भन्ने गर्छन् भगवान हुन्छ या हुदैन थाहा छैन । तर भगवानले सधै भन्ने गर्छ, “तिमी आँट म पुरा गरिदिन्छु” । कुनै पनि काम गर्न उमेर वा धन होइन मन हुनुपर्छ । दृढ संकल्प हुनुपर्छ । आटेको पुरा हुन्छ । हुन पनि विष्णुमायाको उमेरले पचहत्तर छोएको थियो । गाउँको एक गृहिणीसंग पक्कै पनि पर्याप्त धन पनि थिएन । तर उनको आँट र साहसको अगाडि कसैको केही लागेन । उनले गाउँलेको लागि पक्की झोलुङ्गे पुल बनाइछाडे ।

यो पुल रहेको ठाँउमा हरेक वर्ष श्रीपञ्चमीको दिन मेला लाग्ने गर्दछ । मेला भर्न आउनेहरुले सधै बोजूलाई सम्झने गर्दछ । लिम्बूनी बोजूको ७९ वर्षको उमेरमा २०१५ साल मंसिरमा स्वर्गारोहण भयो । वहाँको देहले यो संसार छोडेर गए पनि पाँचथर, ताप्लेजुङ र तेह्रथुमका जनताहरुको मनमा सधै बसिरहनु भएको छ । वहाँको अमर योगदानले गर्दा वहाँ सधै जीवित हुनुहुनेछ । बोजू सधै अमर रहनु हुनेछ ।

यहाँ राखिएको तस्विर विष्णुमायाले बनाएको झोलुङ्गे पुलको हो । साथमा राखिएको तस्विर तिनै लिम्बूनी बोजूको हो । यिनै लिम्बूनी बोजू प्रति अन्तर हृदयबाट नै सेवारो तथा नोगेन भन्न चाहन्छु ।

याक्थुङमा युःयुः आनिवा सिगाङ नु ए यरिक-यरिक नोगेन लो। युःयुः आजुनिए निवासो ए कुहिङएत केवारो ।

Leave a Reply

Your email address will not be published.