६ चैत २०७९, सोमवार

वरिष्ठ !

गोविन्द विनोद

म साहित्यलाई सधैँ प्रेम गर्छु
स्वयंभित्र साहित्यको रङ्ग भर्छु
ममा प्रज्ञता छैन उस्तो विशिष्ट
नभन्नोस् न साथी मलाई वरिष्ठ !

म आराधना गर्छु भाषा-कलाको
प्रशंसा सदा गर्छु मीठो गलाको
कथा काव्य वा नाट्य होस् वा निबन्ध
विधा छन् सबै प्रेय मेरा निमित्त

म साहित्य पढ्दा त्यसै मुग्ध हुन्छु
बुझी भाव संवेदनाको म रुन्छु
हिजो के थियो के भएको छ आज
म साहित्यमा हेर्छु मेरो समाज

गरी अक्षरध्यान चिम्लेर नेत्र
रमी शब्दको अर्चनामा पवित्र
डुबी अर्थ वा भावको पोखरीमा
म संसारको हेर्छु छाया स्वयंमा

रहोस् दृष्टि सम्यक् भनी चेतनामा
छ इच्छा म लागूँ सदा साधनामा
उडी कल्पना भावनामा म लेख्छु
त्यही लेख्छु जे ब्रह्मले सत्य देख्छु

विना स्वार्थका बालका साथ खेली
तिनैका मनोभावलाई सुसेली
खुशी हुन्छु कैले र क्यै लेखिदिन्छु
तिनैबाट सत्प्रेरणा नित्य लिन्छु

छ सत्काव्य संसारको बुझ्न बाँकी
झरीमा अझै ज्ञानको रुझ्न बाँकी
निकालेँ भनी सिर्जना तीन-चार
भएँ के र ठूलो म साहित्यकार ?

कला-काव्यमा लाग्नुको मर्म के हो
म सिक्दैछु साहित्यको धर्म के हो
त्यसैले हुँ यो नाट्यको गौण पात्र
म साहित्यको एक सामान्य छात्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *