१० असोज २०७९, सोमवार

“अविष्मरणीय भोगाइहरु !”

जीत पुन
कसैले भनिदेला यी मान्छे साह्रै आत्मकेन्द्रित छ त कोही भन्ला वुनिएको कथा हो । उहाँहरुको यस्तो खालको विवेकलाई सलक्कै जिम्मा लगाउछु। मैले नसोचेको पनि होइन यसप्रकारको बेलिविस्तार लाएरै साध्य नहुने फेहरिस्त कर्ता हजारौंहजार छन् मेरो भन्दा कहालीलाग्दो चाङ । मात्रै मेरो समुदाय र परिवारको लागि बिलकुल मेल नखाने सवैको लागि अस्विकार्य कर्ममा हाम फालेको थिएँ । मेरा दौतरीहरु मलिया त कोही हिन्दुस्तानी लाहुरे हुन तछाडमछाड हुन्थे । त्यतिबेला लाहुरे हुन त्यतिसारो गाह्रो पनि थिएन तर म भने गोर्खा भर्तीकेन्द्र वन्द गर भन्दै नारा लगाउन तम्सिन्थें जतिबेला वुवा मेरो गतिविधिलाई आश्चर्यपूर्ण नजर लगाउनु हुन्थ्यो र भेटेको वेला आक्रोश र चिन्ता मिश्रित वेदना मेरो अगाडि पोख्दै भन्नुहुन्थ्यो: “छोरा तिमी वर्वाद भयौ कामै नलाग्ने गरि, पिलपिल आँसु झार्दै लाहुरे नभएको छोरालाई विहे गर्नै गाह्रो छ, समाजले पनि चुत्थो नजर ले हेर्छन् छोरा यसो नगर !” यसको अर्थ के लाग्छ भने राजनीति गर्नु महाअपराध हो, कुलवंशले नगरेको काम हो । यसप्रकारको चेतनास्तर भएको परिवार र संस्कार भएको ठाउँबाट त्यो दुनियामा सामेल हुनु निकै कठिन थियो भन्ने अर्थमा मैले आफ्नो भोगाइहरुलाई जस्ताको त्यस्तै प्रस्तुत गरेको हुँ –
१)२०४१-४२ को चर्चित धौलागिरि मेजर अप्रेसनको वेला गुफाभित्र एकहप्ता भोकभोकै छटपटिएको क्षण।
२)२०४२ सालमा पञ्चायत उपयोगको निर्वाचन अभियान सकेर सेतीबेणीवाट रातमा कालीगण्डकीको किनारैकिनार आठ घण्टा हिँडेर जलजला हाल लेकफाँट-५ मा रातको तीन वजे आइपुग्दाको थकाई।
३)अन्धविश्वास, रुढिवादी संस्कृतिको विरुद्ध मठमन्दिर, पूजाआजा वहिस्कार अभियानमा प्रत्यक्ष सहभागी हुँदाको दिनचर्या।
४)गोर्खा भर्तीकेन्द्र वन्द गर अभियानको अगुवाईमा सामेल हुँदाको घटनाक्रम।
५)२०४५/४६ सालको निरंकुश पञ्चायती व्यवस्थाको विरुद्धमा देशव्यापी वालिङ पोष्टरिङ गर्न कुस्मा वजारको जिम्मा लिएर आउने साथीहरु सवै डराएर मोदीको डिलबाट फर्के तर म एक्लै रातको बाह्र बजाएर जिम्मेवारी पूरा गरि फर्कदा पार्टी नेतृत्वले गरेको तारिफ।
६) २०४६को आन्दोलनपछि पार्टीले कार्यकर्ताहरुलाई अर्थोपार्जनको लागि लचिलो बन्ने भन्ने नीति ल्याएपछि सिङ्गापुरतिर हाँनिदा उल्टो १३औं दिनसम्म नजरबन्दमा तड्पिएर रहँदाको पीडा।
७) २०५२मा नेकपा माओवादीले आव्हान गरेको शसस्त्र जनयुद्धलाई कम्युनिस्ट भएकै कारणले आकर्षित हुनु स्वाभाविक थियो जतिवेला ।
क )मगरात स्वायत्त प्रदेश घोषणा गर्ने कार्यक्रम रोल्पामा हुँदै थियो, मलाई धौलागिरिको प्रतिनिधित्व गरि पठाउँदा १०दिनसम्म पैदल व्याक अनि गो, फेरि त्यस्तै बाटैभरि एक्सन दोहोरो भिडन्त, सहयोद्धाहरुको साहदत्त वाफ्रे वा!
ख) फर्किदा एक कम्पनी जनमुक्ति सेनालाई गण्डक प्रदेशमा रुटगाइड भै ल्याउदै गर्दा वाटो विराएपछि कमाण्डरको हप्काई, गोदाइ अ हो!
८) २०५९मा खल्तीमा पार्टीको संवेदनशील चिठ्ठी वोकेर पर्वतको कार्किनेटा हुँदै कतै जाने क्रममा आर्मीको गस्तीले घेराबन्दी गरिहाल्यो । कसो चिठ्ठी पेन्टको भित्री सेफ्टी गोजीमा भएकोले भेटाउन सकेन अरु प्रमाण मसँग केही नभएकोले बाँच्न सफल ।
९) २०६०को वेनी एक्शनको वेला गलेश्वर घुमाउने तालको आर्मी विटलाई डिष्ट्रव गर्ने टिमको रुटगाइडर भै जाँदा तोकिएको समयमा एक्शन पोइन्ट नपुग्दा कमाण्डरको सास्ती खपिनसक्नु थियो।
१०) सामान्य नागरिक भै वस्ने निष्कर्षले मिडियाकर्मी, रेडक्रसको प्रतिनिधिको संरक्षणमा परिवारसंग सम्पर्कमा रहदै थिएँ तर प्रशासनले सुख दिएन । रातको १२ वजे दलबल सहित गिरफ्तार गरि १८दिनसम्म हिरासतमा अत्यन्तै कष्टपूर्ण नारकीय जीवन विताउँन परेको पल।
-तर मलाई कुनै पश्चाताप छैन, गुनासो पनि छैन वरु गौरवगर्न लायकको शिक्षाले दिक्षित भएको छु । जीवन र जगतको परिभाषा थाहा पाएँ । देश र दुनियालाई वुझ्ने अवसर मिल्यो। यसैमा मेरो जीवन छ। धन्यवाद।

Leave a Reply

Your email address will not be published.