८ असोज २०७९, शनिवार

कवि मित्रलाई पत्र !

मुकुन्द शर्मा

प्यारा मित्र ! पवित्र यो हृदयको स्वीकार्नुहोस् सम्झना
हामीले भुलियो प्रियस्मरणमा, हाँसेर बोल्नोस् क्षमा
मान्छे भुल्दछ भोगमा तर सखे ! साहित्यमा भुल्नुहोस्
हाम्रा छन् शुभकामना सयमुरी—सौहार्दमा डुल्नुहोस् ।१

भोको पेट छ तैपनि प्रिय ! मिठो साहित्यको व्यञ्जन
हामीलाई दिने लिने रस उसै कस्तो सफा त्यो मन
हामी विस्मित बन्दथ्यौं तर ढिलो मात्रै बुझ्यौं मित्रता
एकाएक उठी उता गइदिँदा निःस्तब्धता भो यता ।२

पाएथ्यौं अघि एकपत्र प्रियको बोल्थ्यो जहाँ ढुक्ढुकी
जन्मेको स्थलको पियार अनल-ज्वाला रहेको फुकी
त्यो तातो महनीय पावन जहाँ एकान्त सद्भाव छ
मायाँप्रीति पकाउने हृदयको भान्साभरि स्वाद छ ।३

संसारी रमिता यतातिर कुनै झल्काउने वञ्चना
मेरा मित्र भने अचिन्त्यरसमा भुल्ने सदा सोचमा
हामी धन्य भयौं सुमित्र कविजी साहित्यमा अग्लिंदा
धर्ती धन्य भइन् सुपुत्र यसरी सौन्दर्यमा पग्लिंदा ।४

धर्तीको सुगुणानुवाद मनमा राखेन त्यो के नर ?
प्राणीमात्र कृतज्ञ बन्दछ सदा आफ्नो धरा-खातिर
हामी फेरि विवेकशील कहिने साहित्यधर्मी नर
राख्छौं मास्तिर जन्मभू र जननीलाई गरी आदर ।५

टाढा जानुभयो भनेर त्यसले के गर्छ मायाँ हुन
टाढै छन् रवि चन्द्र, रश्मि तिनको के बेर भो आउन ?
छाडिन्छन् कसरी र बन्धु जब यो आत्मीयता पास छ
यौटा व्यापक दिव्य चेतन यहीँ आयो कि आभास छ ! ।६

साहित्यप्रियका निमित्त कतिका बाधाहरू आउँछन्
भोकै टार्न भनी सुदूर थलमा हाम्फाल्नमा लाउँछन्
जे होस् त्यो, तर काव्यको सगरमा हाँसी चहार्ने बगी
हेर्नेनिम्ति अनेक कौतुक दिई चङ्गा हुने जिन्दगी ।७

डुब्थ्यौं काव्य समुद्रमा अघि दुवै चुर्लुम्म रातोदिन
भुल्थ्यौं क्रोध र लोभका जहरिला पार्ने अरूका क्षण
त्यो ता भो सपना यता अब उनै आए फटाहाहरू
हाम्रा कल्मषहीन ती दिन सधैं सम्झेर बस्छौं बरु ।८

कस्तो काव्यकला बहन्छ कविको मानौं उषा मिर्मिरे
यस्तै उज्ज्वलता लिएर रविले आकाश छाए अरे
हाम्रोमा दिउसो थियो र पहिले राम्रै उज्यालो थियो
ऐले मित्र उता गएर मनमा कालो निशा ओर्लियो ।९

आशा हो जुन ठाउँमा पनि जुनी लम्ब्याउने आखिर
बेला होस् अति नै कठोर तर त्यो विस्तार जाने पर
त्यो यौटा छ र हाँस्न बोल्न र जगत् चाहार्न छन् प्रेरणा
हे मेरा प्रिय मित्र ! नत्र कसरी बल्झाउने सम्झना ?।१०

धर्ती छिन् सब ठाउँमा रहरिली आवास छन् सुन्दर
मान्छेका सपना समेत बहुधा उस्तै बुझिन्छन् तर
यौटा अन्तर भिन्नता छ सबमा त्यो वृत्ति उद्रेक हो
हाम्रो मर्म अनेक होस् तर छटा संसारमा एक हो ! ।११

चर्को काम गरेर मित्र ! दुनियाँ लर्को लगाईकन
फर्कन्छन् घर बेलुका तर त्यहाँ पाइन्न क्यै भोजन
रुन्छन् आँसु बगाउँदै वदनमा ती बालबच्चाहरू
यस्तोमा कविको कथा छ अब लौ मैले यहाँ के गरूँ ? ।१२

मैले पाल्छु जहान मित्र कविको भन्ने कुरा आउँछ
त्यो आदर्श समेलिँदैन, त्यसले झन् वेदना ल्याउँछ
आआफ्ना पिरला गलाभरि हुने संसारको वाध्यता
हाम्रो चिन्तन माथि उठ्नु छ सखे ! यै भन्छ यो मित्रता ।१३

माया वास्तव राखिने विषय नै आखीरमा व्यक्ति हुन्
त्यस्तै व्यक्तिहरू मिलीकन यहाँ बस्ती बसेका हुनन्
बस्तीको समुदायबाट चिनिने नेपाल यो ठाउँ छ
टाढा जान्छ कुनै र याद भरिँदा नेपालमै आउँछ ।१४

Leave a Reply

Your email address will not be published.