१० असोज २०७९, सोमवार

पाल्पाको जोगीपानी: जहाँको पानी पिए बोली फुट्छ !

पाल्पा जिल्लामा एउटा यस्तो कुवा पनि छ जहाँको पानी पिएपछि बोली नफुटेका वा बोल्न नसक्नेहरूको बोली फुट्छ भन्ने विश्वास गरिन्छ ।
यो कुरा झट्ट सुन्दा अचम्म त लाग्छ नै साथै अपत्यारिलो पनि तर अहिलेको यो युगमा पनि मानिसहरू यस कुवाको पानीमा त्यस्तो शक्ति भएको विश्वास गर्दछन् र पानी लिनका लागि टाढाटाढाबाट मानिसहरू आउने गर्दछन् ।मानिसमा यस्तो विश्वास छ कि कुवाको पानी खाएपछि बोली नफुटेका बच्चाको बोली फुट्छ । यो विश्वास सयौं वर्षदेखि कायमै छ । पाल्पाको सदरमुकाम तानसेनबाट करिब ७ किलोमिटर पर तानसेन तम्घास रोडस्थित तानसेन नगरपालिका– ११ बन्दिपोखराको जोगी कुवाको पानी पिएपछि वाक्य नफुटेका बच्चाहरूको वाक्य फुटछ भन्ने स्थानीय मान्यता रहेको हो ।
स्थानीय कथनअनुसार परापूर्व कालमा एक जना जोगीले तीर्थमा जाँदा रात परेको र सामाकोटमा बास बस्दा अत्यधिक प्यास लाग्दा पानीको मुहान र र नजिक वरपर घरहरू समेत नदेखेपछि जोगीले हातमा लिएको चिम्टाले जमिनमा गाडेर पानी निकालेका थिए ।
उनै जोगीले आफूले त्यही पानीले प्यास मेटेको र अबदेखि यो पानी पिएमा वाक्य नखुलेका बच्चाहरू बोल्न सकुन् भनी आशिर्वाद दिएर त्यहाँबाट आफ्नो गन्तव्यतर्फ अगाडि बढेको स्थानीयहरूको भनाइ छ । सोही समयदेखि स्थानीयले पानी निकालेको स्थानमा कुवा निर्माण गरे र ठाउँको नाम पनि जोगीपानीका नामले प्रख्यात हुन पुग्यो ।

Leave a Reply

Your email address will not be published.