८ असोज २०७९, शनिवार

प्राचीन गुरुकुलमा महिला : आत्रेयी र वनदेवी : वर्तमान !

मुकुन्द शर्मा

प्राचीन कालमा महिलाहरूले पनि गुरुकुलमा वेदान्त विद्या जस्तो गहन विषय पढ्थे । आत्रेयी (अत्रिकुलोत्पन्ना छात्रा) आदिकवि वाल्मीकिको गुरुकुलमा पढ्ने गर्थिन् । केही अलमल भएर दण्डकारण्यमा घुम्दै छिन् । वनमा एक्लै हिँड्दा वनदेवीसित उनको भेट हुन्छ । दोहोरो परिचय खुल्छ । ती संवाद गर्छन् । आफ्नो पर्यटनको उद्देश्यबारे आत्रेयी भन्छिन् —
अस्मिन्नगस्त्यप्रमुखाः प्रदेशे भूयांस उद्गीथविदो वसन्ति
तेभ्योऽधिगन्तुं निगमान्तविद्यां वाल्मीकिपार्श्वादिह पर्यटामि ।।
अर्थात् यो वनप्रदेशमा अगस्त्य प्रभृति वेदवेदान्तज्ञाता ऋषिहरू रहन्छन् । तिनीहरूको सान्निध्यमा रहेर म वेदान्त पढ्न चाहन्छु । त्यसैले वाल्मीकिको गुरुकुलबाट निस्केर यता उनै अगस्त्य प्रभृतिको गुरुकुल खोज्दैछु ।
महाकवि भवभूतिको उत्तररामचरित नामक नाटकको दोस्रो अङ्कको तेस्रो श्लोक हो यो । प्रसङ्गमा कुरो चल्छ, वाल्मीकिको गुरुकुलमा लव कुशको पढाइ तेज छ । उनमा जन्मजात संस्कारहरू छन्, शस्त्रास्त्रको ज्ञान छ । अर्कोतिर वाल्मीकि रामायण लेख्तैछन् । अतः आत्रेयी अर्को अगस्त्यहरूको गुरुकुल खोज्दै हिँडेकी छन् ।
यस प्रसङ्गबाट अतीत युगको धेरै कुरा खुल्छ, नारीहरू पनि गुरुकुलमा अध्ययन गर्थे । वेदवेदान्त पढ्थे । गुरुकुल फेर्ने पनि चलन थियो । घनघोर जङ्गलमा धेरै गुरुकुल थिए । नारीहरू एक्लै हिँड्न सक्ने वातावरण थियो ।
अन्त्यमा –
वर्तमानमा नारीको वेदविषयक शिक्षा र सुरक्षा कस्तो छ, पाठकवर्गले स्पष्ट पारिदिनुहुन अनुरोध गर्छु ।

Leave a Reply

Your email address will not be published.