१४ जेठ २०८०, आइतवार

आज विकास र राजनीतिको कुरा गरौँ !

अमर न्यौपाने (चुनाव मुखमा आएको छ_)।
कहिल्यै कुनै व्यवस्था र पाटीले नउठाएका विकासका केही मूल आभारभूत कुरा छन् । मलाई अचम्म लाग्छ, विकासको पहिलो आधार नै किन छुटाइन्छ ? भिजन नभएर कि चेतना ? संसार नदेखेर कि आफ्नै देश नदेखेर ? यो काम गर्नका लागि कुनै पनि व्यवस्थाले रोक्दैन । न राणाशासनले न पञ्चायतले न प्रजातन्त्रले न गणतन्त्रले ।
धेरै मध्ये तीन आधारभूत कुरा लेख्छुः
(विस्तृतमा पछि लेख्नेछु ।)
१. भूमि विभाजन र भूउपयोग नीति
भूमिबिना देश हुँदैन । तर यहाँ भूमिको उचित विभाजन छैन । आजभन्दा २०/२२ वर्ष अगाडि खेतैखेत देखिएका जमिनमा अहिले घरैघर छन् । बस्तीको माझमा कारखाना छन् । तल स्कूल माथि घरबेटी बस्छन्… आदि । यस्तो कतै हुन्छ ? देश बनेपछि कृषि क्षेत्र, बसोबास क्षेत्र, स्कूलकलेज क्षेत्र, अस्पताल क्षेत्र, कलकारखाना क्षेत्र, धार्मिक क्षेत्र, प्रशासनिक क्षेत्र… आदि छुट्याएर हजारौँ वर्षलाई सोचेर योजना बनाउनुपर्थो। यी त देशको न्यूनतम कुरा हुन् । २१ औँ शताब्दीमा उठाउने कुरा होइनन् । देश बनेपछि नै गर्नुपर्ने कुरा हो । यही नभएर देश अव्यवस्थित भएको छ । भूमिव्यावस्था मन्त्रालयको किन राखिएको हो ?

२. निर्माण पद्धति
कुनै पनि देशको पहिचान भनेको त्यो देशको निर्माण पद्धति हो । हाम्रो आफ्नै निर्माण पद्धति के हो त ? ठाउँअनुसार हाम्रो आआफ्नै निर्माण पद्धति छ । त्यसलाई आधुनिकीकरण गरेर नगरपालिका या गाउँपालिकाले नक्सा पास गर्नुपर्थ्यो र अनुगमन गर्नुपर्थ्यो । मन लाग्दी घरहरु बनेका छन् । यहाँ बनिरहेका शहरहरुलाई हेर्ने हो भने आँखालाई बिझाउँछ । गाउँहरु पनि बिरुप हुँदै गएका छन् । यहाँका नगरपालिकाको काम के हो ? बाहिरी डिजाइन परम्परागत र भित्री डिजाइन आधुनिक हुने गरी ठाउँ अनुसारको मौलिक निर्माण पद्धति बनाई कार्यान्वयन भएको भए पूरै देश सङ्ग्रालय जस्तो हुने थियो । विकसित देशमा त आफूखुसी आँगन अगाडिको रुख पनि काट्न पाइँदैन तर यहाँ खेतबारीमा बस्ती बनाउन पनि पाइन्छ । बस्तीको माझमा कार्खाना चलाउन पनि पाइन्छ । हाम्रो देशमा यति सुन्दर मौलिक निर्माण पद्धति छन् कि त्यसलाई ब्रान्डिङ र आधुनिकीकरण मात्र गर्न नसकिएको हो । पूर्व, मध्य, पश्चिम, हिमाल, पहाड, तराई… आदि ठाउँमा भूगोल र संस्कृति अनुसार फरकफरक निर्माण पद्धति छन् । त्यसलाई आधुनिकीकरण र ब्रान्डिङ गर्ने हो भने संसारले हेर्न आउने थियो ।
नगरपालिका र गाउँपालिकाको काम के हो ? त्यहाँका इन्जिनियरहरुको काम के हो ?

३.बाटो
अचम्म त के भने नेपाल एउटा पनि राजमार्ग नभएको देश हो । महेन्द्र राजमार्ग, पृथ्वी राजमार्ग भनेर नाम लिनुहोला । संसारका विकसित देशमा राजमार्गको दायाँवायाँ घर र बजार हुँदैनन् । भए भने सिटी रोड भयो । त्यस्तो राजमार्ग कहाँ छन् यहाँ ? व्यस्त सडक दायाँवायाँ गाडीको आवाजले सुत्नबस्न गाह्रो हुन्छ । असाध्यै अस्वस्थ मानिन्छ। हामी राजमार्गलाई लोकमार्ग नाम राखेर नै क्रान्तिकारी भयौँ । बस्तीमा पनि बाटोको कुनै वैज्ञानिक योजना र कार्य भएको छैन । अझ काठमान्डू, जहाँ सधैँ शासकहरु रहने ठाउँ । यहाँका केही मूल बाटा छोडेर बस्ती पस्ने हो भने सबै बाटा जेलिएको धागो जस्ता लाग्छन् । बाटाहरुको निकास छैन । फुटपाथ र बाटो दायाँवायाँ रुखबिरुवा हुन त धेरै परको कुरा । दुइटा गाडी क्रस हुन सक्दैनन् । बाटोले जनताको उमेर खाएको छ । जस्तो किः काठमाण्डूबाट नारायणगढ १४१ किलोमिटर छ । विकसित देशमा यति यात्रा गर्न बढीमा दुई घण्टा र घटीमा आधा घण्टा लाग्छ । तर हाम्रोमा पाँच देखि १० घण्टा पनि लाग्न सक्छ । त्यसमाथि तनाव । यसरी कयौँ यात्रा गर्नुपर्छ । अनि बाटोले उमेर खाएन त ?

यसका लागि लामो भाषण, ठूला कुरा, आरोपप्रत्यारोप र गालीगलौज गर्नुपर्दैन ।यहाँ त विकास र योजनाको होइन तल्लो स्तरको गालीगलौजको राजनीति गरिन्छ ।
कामै गर्ने हो भने पाँचसात बुँदा घोषणापत्र भए पुग्छ । व्याख्या त पछि गरे भयो । भ्रमको जाल हाल्ने घोषणापत्र २०० पेजको भए पनि के काम ? न कार्वान्वयन हुन्छ न चुनावपछि फर्केर हेरिन्छ । आजसम्मका घोषणापत्र त चुनावको भोलिपल्ट देखि नै थन्किएका छन् ।
माथिका कुरालाई यत्ति दुई बुँदाले समेट्छन्ः
१‌‍‌.ल्याण्डपुल र हाउसपुल गरी भूमि विभाजन, व्यवस्थित बस्तीविकास र सहरीकरण नेपाली निर्माण पद्धति अनुसार गरिन्छ।
२‍.देशभरिका सडकहरु मिलेसम्म सिधा गरिन्छ।पहाड आए छेडिन्छ, घर आए भत्काइन्छ।सडकले मानिसको उमेर खानुहुँदैन । चोकमा सालिक होइन चौतारो बनाइन्छ । हरेक तीन किलोमिटरमा सार्वजनिक खुला ठाउँ र पार्कहरु हुनेछन् ।
(… कुरा धेरै छन् । अहिलेलाई यत्ति)

तपाईंले कुनै नेता या पाटीले विकासका यी आधारभूत कुरा उठाएको सुन्नुभएको छ ? देख्नुभएको छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *