२० माघ २०७९, शुक्रवार

मतदातालाई भेट्न पर्वतका तीन सांसद गाउँ पसे !

प्रतिनिधि सभामा दोस्रो पटक निर्वाचित सांसद पदम गिरी, पर्वत क्षेत्र नं “क” का भक्त कुवँर र प्रदेश “ख”बाट निर्वाचित सांसद मित्रलाल बस्याल मतदातालाई धन्यवाद दिन गाउँ अभियानमा निस्केका छन् । निर्वाचनमा विजयी भएको भोलिपल्ट देखिनै निर्वाचित तीनैजना सांसदहरु एकैपटक मतदातालाई धन्यवाद दिन गाउँ अभियानमा निस्केका हुन् ।


प्रतिनिधि सभामा २०७४ सालमा अत्याधिक मतले निर्वाचित गिरी पुनः दोस्रो पटक २०७९ सालको आम निर्वाचनमा पर्वत जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । निर्वाचनमा विजयी भएको भोलीपल्ट नै गिरी आफ्नो गृह वडाका विभिन्न वस्तीहरुमा पुगेर मतदातलाई धन्यवाद दिँदै आफ्ना प्रतिबद्धताहरु पूरा गर्ने बाचा गरेका हुन् ।
फलेवास नगरपालिका-४, मुडिकुवाको वाड कार्यालयमा उपस्थित मतदातालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सांसद गिरीले मुडिकुवावासीले आफूप्रति गरेको भरोसा र बिस्वासको सदैव सम्झना र संबोधन गर्ने बताउँनुभयो । “यहाँ पानी र यातायातको समस्या छ जसलाई म नजिकबाट नियालिरहेको छु । यी समस्याहरु मेरो कार्यकालमा दुर गर्नेछु” सांसद गिरिले भन्नुभयो ।

त्यसैगरी निर्वाचित प्रदेश सांसदहरु भक्त कुवँर र मित्रलाल बस्यालले पनि आफूहरु जनताको सेवा गर्न आएका कारण जनताको घर आँगन वरिपरि रहेर जनताको सेवा गर्ने बताउँनुभयो । पर्वतको दक्षिणी क्षेत्रमा रहेका मतदाताहरुलाई धन्यवाद दिनका लागि गाउँ अभियानमा निस्कने तीनै सांसदहरु मुडिकुवाका मतदाताहरुलाई धन्यवाद दिएर आफ्नो अभियानको शुरुवात गरेका हुन् ।

नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका गिरीले प्रतिद्धन्द्धी कांग्रेसका उमेदवार अर्जुन जोशीलाई २२६३ मतान्तरले हराएका थिए । गिरिले २९८७२ मत ल्याएर निर्वाचित हुँदैगर्दा जोशीले २७६०९ मत प्राप्त गरेका थिए । पर्वत प्रदेश नं “क”बाट निर्वाचित भक्त कुँवर १६०८१ मत पाएर निर्वाचित हुँदैगर्दा उनका प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार सुदिप कुवँरले (हँसियाहथौडा)१३७४२ मत प्राप्त गरेका थिए जसको अन्तर २३३९ मत रहेको छ । त्यसैगरी प्रदेश “ख”बाट निर्वाचित मित्रलाल बस्यालले १४१३२ प्राप्त गरि निर्वाचित भएका थिए भने उनको प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार ऋषिकेश तिवारीले (रुख)१२२१० मत प्राप्त गरेका थिए जसको अन्तर १९२२ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *